बेलायतका नेपाली नयाँ पिढीं र हाम्रा भाषाहरुको भविष्य

Tags:

आर यच शर्मा

साभार: नेपाली सन्‍देश साप्‍ताहिक

एउटा बच्चाले एकैचोटी पाँचओटा भाषासम्म सँगै सिक्न सक्दछ भन्ने भाषाविद्हरुको ठहर छ र यो कुरा हामी आफैले पनि देखे भोगेको कुरा हो । बेलायतमा पनि हामी हाम्रा नानीहरुलाई आफनो जातिगत भाषा छ भने त्यो भाषा अनि नेपाली र अग्रेजी एकैचोटी सिकाउन सक्दछौ । आफनो मातृभाषा र नेपाली भाषा सिक्दैमा कसैको अग्रेजी कमजोर हुदैन भन्ने कुरा आम अभिभावकलाई बुझाउन प्रत्येक नेपाली भाषा र सस्‍कृतिको माया गर्नु नेपालीको कर्तब्य हुन आएको छ ।

बेलायतमा आफना भाषा बोल्न जान्‍ने पनि कतिपय नानीहरु अहिले नेपाली भाषा पढ्न नसक्ने अवस्थामा पुगेका छन् । दिनानुदिन यस्तो नेपालीको संख्या बढ्ने क्रममा रहेको छ । बोलेर मात्र भाषा जीवन्त रहन सक्दैन । पढ्न र लेख्न नसक्ने ब्यक्तिहरुको संख्यामा बृद्धि हुँदै जानु शुभ संकेत होइन । त्यसैले यसबारेमा बेलायतमा रहेका नेपाली मिडिया संघ-संस्थाहरु तथा समाजसेवीहरुले गम्भिर भएर सोच्नु जरुरी छ ।

यहाँका स्थानीय स्कूलहरुमा नेपाली भाषाको पढाईको ब्यवस्था मिलाउने प्रयास गर्नु सबभन्दा सजिलो उपाय हो । तर नेपालीहरुको घनाबस्ती रहेको ठाउँ बाहेकका स्थानहरुमा यो सुविधा लिन कठिन छ । त्यसैले कम्तीमा पनि सप्ताहन्तमा नेपालीहरु आफै मिलेर पनि हाम्रा भाषाहरु पढाउने ब्यवस्था मिलाउनु अत्यन्त जरुरी छ ।

क्षेत्रगत आधारमा थुप्रै ठाउँहरुमा नेपालीका संगठनहरु बनेका छन् । ती संगठनहरुले सप्ताहन्तमा लिपी भएका जातिगत भाषाहरु एवं नेपाली भाषा पठन पाठनको व्यवस्था मिलाउन सकेमा नै ती संगठनहरुको सबभन्दा ठूलो उपलब्धि सावित हुनेछ ।

यदि समयमै हामीले हाम्रो भाषाको र साहित्यको पठनपाठन एवं प्रचार गर्न सकेनौं भने दिनानुदिन हाम्रा नेपाली भाषामा छापिने पत्रिका ववे साइटहरुलाइ पनि बाध्य भएर अंग्रजी उन्मखु हुनु पनर्छे । पुराना पिढीलाइ र नयाँ पिढीले विस्थापित गर्ने प्रकृतिक नियमलाइ कसैले रोक्‍न सक्दैन । त्यसैले नयाँ पिढींलाई नेपाली भाषा र साहित्यको पठनपाठनको व्यवस्था मिलाउन हामी बेलायतवासी नेपालीहरु सजग हुने बेला भइसकेको छ । अन्यथा उपराष्ट्रपति झाको जुन विरोध हामीले गर् यौ यसको मर्मलाई हामीले दरोसँग समात्न नसकेको ठहर हुनेछ र बेलायतमा बसेका हामी नेपालीहरु पनि त्यत्तिकै हराउने छौ । भाषा बचेन भने न संस्कृति नै बच्न सक्छ न त नेपालीपन नै ।